पुरानो राजनीति तोड्ने दाबी गर्दै कुलमान–दीपकको चुनावी सहकार्य

साझा लाल्टिन संवाददाता

९ पुस, काठमाडौं - आगामी निर्वाचनलाई लक्षित गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले नेतृत्व गरिरहेको उज्यालो नेपाल पार्टी र ई. दीपक साह अध्यक्ष रहेको सर्वोदय पार्टी एकै मोर्चामा उभिने भएका छन्।

आज आयोजित संयुक्त कार्यक्रममा दुई दलले औपचारिक रूपमा चुनावी एकताको घोषणा गरेका हुन्। बदलिँदो राजनीतिक परिस्थितिमा परम्परागत राजनीतिक अभ्यास प्रभावहीन हुँदै गएको निष्कर्षसहित दुई नयाँ सोच बोकेका दलबीच सहकार्यको बाटो खुलेको नेताहरूले बताएका छन्।

सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले निर्वाचनमा प्रभावकारी उपस्थितिका लागि चुनावी एकता अपरिहार्य भएको स्पष्ट पारे। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग अलग हुँदै हालै सर्वोदय पार्टी स्थापना गरेका साहले अहिलेको राजनीति नयाँ सोच र नयाँ संरचनाबाट मात्र अघि बढ्न सक्ने धारणा राखे।

उनका अनुसार, अहिलेको सहकार्य चुनावी प्रयोजनका लागि मात्र भए पनि भविष्यमा परिस्थितिले साथ दिए पार्टी एकतासम्म पुग्ने सम्भावना खुला राखिएको छ।

‘पहिलो चरणमा चुनावी सहकार्य हो, काम गर्दै जाँदा जनताको साथ र परिस्थितिले माग गर्‍यो भने पार्टी एकता पनि सम्भव छ,’ साहले भने।

नयाँ राजनीतिक शक्तिहरूबीच बढ्दो सहकार्यले आगामी निर्वाचनको राजनीतिक समीकरणलाई थप चासोपूर्ण बनाउने संकेत देखिएको छ।

प्रतिक्रिया