सिके राउतको निर्देशनमा निलम्बित उपाध्यक्ष साहमाथि कालोमोसो प्रहार

साझा लाल्टिन संवाददाता

काठमाडौं २९ असार - जनमतका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा जनमतकै नेताले कालोमोसो प्रहार गरेका छन् ।

जनसंवाद यात्रामा रहेका बेला बारा जिल्लाको गढीमाई नगरपालिका-३ दहियाचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उनीमाथि कालोमोसो  प्रहार गरिएको  हो ।

निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रबारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटमा जनसंवाद यात्रा सुरु गरेका थिए । सोही यात्रामा रहेको बेला पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा सिंहले आफूमाथि मोसो प्रहार गरेको साहको आरोप छ ।

‘जन संवाद यात्राको क्रममा खाना खाएर निस्केको थिएँ । सोही क्रममा अध्यक्ष राउतका निकट विकास सिंहको नेतृत्वमा ममाथि कालोमोसो  प्रहार गरियो ’ उनले भने, ‘हामीले संवाद यात्रा थालेपछि  निरन्तर अध्यक्ष निकटबाट धम्की आइरहेको छ ।’

पार्टीमा डा.राउत परिवारवाद लाद्न खोजेको र स्वतन्त्र मधेश गठबन्धकै बेलादेखि संघर्ष गरेर पार्टीलाई यो स्थानमा पुर्‍याउनेलाई अघि बढ्न नदिन विभिन्न बहानमा अनुशासनको कारबाही तथा फसाउने काम गरिरहेको संवाद यात्रा थालेका पक्षको ठहर छ ।

निलम्बित कोषाध्यक्ष ई.सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारको अगुवाइमा पार्टी र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तरसंघर्षको रुपमा ‘जनसम्वाद यात्रा’ रौतहतबाट सुरु गरिएको थियो ।

जनमतका केन्द्रीय सदस्य विपी साहले मोसो प्रहार राजनीतिक तथा लोकतान्त्रिक चरित्र नभएको बताएका छन् । उनले यस बारेमा पार्टीभित्र छानबिन हुनुपर्ने पनि माग गरेका छन् ।


प्रतिक्रिया