जेनजी आन्दोलनको ‘क्रेडिट’ आफूलाई: ऋषि धमलाको दाबीले राजनीति ततायो

साझा लाल्टिन संवाददाता

फागुन १ ,काठमाडौं आम जनता पार्टीका नेता ऋषि धमलाले जेनजी आन्दोलनपछि उत्पन्न राष्ट्रिय संकट समाधानमा आफू निर्णायक भूमिकामा रहेको दाबी गरेका छन्। पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले आन्दोलनपछिको अन्योल, कर्फ्यू र शक्ति–केन्द्रित संवादबीच आफूले ‘मध्यमार्गी सूत्र’ अघि सारेको बताए।

धमलाका अनुसार, जेनजी प्रतिनिधि सुधन गुरुङसहितका नेताहरूसँग करिब ७ घण्टा लामो वार्ता गरेपछि राष्ट्रपतिलाई संविधानभित्रैबाट निकास खोज्न सुझाव दिइएको थियो। “देश कर्फ्यूमा थियो, अवस्था जटिल थियो। मैले सबै पक्षलाई एउटै टेबलमा ल्याएँ। प्रधानसेनापति र राष्ट्रपतिले पनि संवादका लागि बोलाउनुभएको थियो,” उनले भने, “संविधान र लोकतन्त्र जोगाएर सहमति गर्न मैले प्रस्ताव राखेँ। त्यसैको आधारमा समझदारी भयो र सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो।”

धमलाले जेनजी आन्दोलनले उठाएका धेरै मुद्दा आफ्नो धारसँग मिल्ने दाबी गर्दै, आफूले अघि सारेको ‘मध्यमार्ग’ नै राजनीतिक सहमतिको कडी बनेको उल्लेख गरे।

यद्यपि, उनको दाबीबारे अन्य राजनीतिक वृत्तबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन। आन्दोलनपछिको संक्रमणकालीन समीकरणमा कसको भूमिका कति निर्णायक थियो भन्ने विषयमा भने राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।

प्रतिक्रिया