८ फागुन,काठमाडौं - ऐतिहासिक धरहरा परिसरभित्र नवनिर्मित संरचनामा सवारी साधन पार्किङ तथा सुरक्षा व्यवस्थापनको जिम्मेवारी अब काठमाडौँ महानगरपालिकाले सम्हाल्ने भएको छ। शुक्रबार सुन्धारामा नेपाल सरकार र महानगरबीच भएको संयुक्त बैठकले पार्किङ सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन महानगर प्रहरी बल परिचालन गर्ने निर्णय गरेको हो।
बैठकले धरहराको समग्र सञ्चालनलाई व्यवस्थित गर्न तत्कालीन तथा दीर्घकालीन योजना तयार पार्ने उद्देश्यले सहरी विकास मन्त्रालय र महानगरका प्रतिनिधि सम्मिलित संयुक्त समिति गठन गरेको छ। समितिले सञ्चालनको मोडालिटी, व्यवस्थापन ढाँचा र सम्भावित सुधारका उपायबारे अध्ययन गरी सुझाव पेश गर्नेछ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको बाह्य संरचना व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिइएको जानकारी दिँदै सम्पूर्ण सञ्चालन अधिकार नै महानगरलाई हस्तान्तरण गर्न सरकारसमक्ष आग्रह गरिएको बताइन्।
यसैबीच, सहरी विकास मन्त्री कुमार इङ्नामले सुन्धाराको बाह्य व्यवस्थापनसम्बन्धी सम्पूर्ण आर्थिक दायित्व महानगरले वहन गर्ने सहमति भएको स्पष्ट पारे। उनले पार्किङ र सुरक्षासम्बन्धी काम तत्कालै सुरु हुने जानकारी दिँदै व्यवस्थापन हस्तान्तरणको प्रक्रिया अघि बढाउन समितिले आवश्यक मोडालिटी तयार गर्ने बताए।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए। नयाँ निर्णयसँगै सुन्धारा क्षेत्रमा देखिएको पार्किङ अव्यवस्था समाधान हुने, साथै धरहरा परिसरको सुरक्षा, सरसफाइ र समग्र व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।