भगौडा होइन, परिणाम दिएर निस्किएको हुँ’ – कुलमान घिसिङको स्पष्टोक्ति
साझा लाल्टिन संवाददाता
14 February 2026
२ फागुन,काठमाडौं - कुलमान घिसिङले आफू स्वेच्छाले नभई परिस्थितिको दबाब र नेतृत्वको आग्रहका कारण सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी भएको बताएका छन्।
काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको भेलामा सम्बोधन गर्दै उनले सुरुमा सरकारमा जाने इच्छा नरहेको स्पष्ट पारे। उनका अनुसार प्रधानमन्त्री तथा जेनजी प्रतिनिधिको आग्रहपछि मात्र उनले जिम्मेवारी सम्हालेका थिए। “संकटको समयमा देशलाई आवश्यक परेकाले जिम्मेवारी लिएको हुँ। तीन महिनाको अवधिमा काम गरेर देखाएँ, निर्वाचनको वातावरण तयार पारेर सरकारबाट बाहिरिएको हुँ,” उनले भने।
आफू चुनावका लागि बनेको सरकारमा नजाने पक्षमा रहेको उल्लेख गर्दै उनले अन्ततः परिस्थितिले सरकारमा पुर्याएको बताए। छोटो कार्यकालकै कारण केहीले ‘भगौडा मन्त्री’को आरोप लगाए पनि आफूले परिणाममुखी काम गरेको दाबी गरे।
घिसिङले आगामी दिनमा देशलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउने लक्ष्यसहित सक्रिय रहने बताए। ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य गरेको अनुभव स्मरण गर्दै उनले अब राजनीतिक क्षेत्रको ‘लोडसेडिङ’ हटाउनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार राजनीतिक अस्थिरता र अव्यवस्था अन्त्य नभएसम्म देशको समग्र अवस्था सुधार हुन सक्दैन।