१ चैत,काठमाडौं - योगेश भट्टराईले पार्टीभित्रैबाट आफू तथा अन्य नेताविरुद्ध अनर्गल लाञ्छना र मिथ्या सूचना फैलाउने काम भइरहेको बताएका छन्। उनले यस्तो गतिविधिले पार्टीको एकता कमजोर बनाउने भन्दै गम्भीर समीक्षा आवश्यक भएको बताएका हुन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै योगेश भट्टराईले अहिलेको समय पार्टी र नेताहरूका लागि संवेदनशील घडी भएको उल्लेख गरेका छन्। उनका अनुसार केपी शर्मा ओली पितृशोकमा रहेकाले हालै बसेको नेकपा एमाले सचिवालय बैठकमा उनले अध्यक्षता गर्न सकेनन्। उक्त बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उनले स्मरण गराएका छन्।
भट्टराईले यस्तो संवेदनशील समयमा नेताहरूबीच नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति र आपसी आरोप–प्रत्यारोप गर्नु अशोभनीय हुने बताएका छन्। तर पार्टीको माथिल्लो तहका केही नेताहरूबाटै आफू लगायत केही नेताहरूविरुद्ध अनर्गल आरोप लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना फैलाउने काम भइरहेको उनको आरोप छ।
उनका अनुसार ‘शरू शर्मा’ नामको नक्कली फेसबुक आईडीमार्फत यस्ता गतिविधि तीव्र रूपमा भइरहेको छ। भट्टराईले पार्टीकै पंक्तिबाट फैलाइने मिसइन्फरमेसन, डिसइन्फरमेसन र हेट स्पिच अन्त्य हुनुपर्ने बताएका छन्।
उनले पार्टीको एकता जोगाउनु, संगठनलाई बहुआयामिक रूपमा रूपान्तरण गर्नु र गुमेको जनविश्वास पुनः प्राप्त गर्नु अहिलेको प्रमुख कार्यभार भएको बताए। यी विषयमा उपयुक्त समय र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कका आधारमा खुला छलफल हुनुपर्नेमा उनले जोड दिएका छन्।