टिओबीका सदस्य तेन्जिन दाबा लामा लाई धरौटीमा छाड्ने आदेश

साझा लाल्टिन संवाददाता

२३ मंसिर, काठमाडौं - टिबेटियन ओरिजिनल ब्लड (टिओबी) का सदस्य तेन्जिन दाबा लामा भन्ने तेन्जिन राप्तेनलाई धरौटीमा छाड्ने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले लिखत किर्तेसम्बन्धी मुद्दामा पाँच लाख र लागुऔषधसम्बन्धी मुद्दामा २० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ ।

अभद्र व्यवहारको कसुरमा पक्राउ परेका तेन्जिनको नागरिकता नक्कली फेला परेपछि जिल्ला प्रहरी परिसर, काठमाडौंले लिखत किर्तेमा अनुसन्धान गरेको थियो । उनको कोठामा छापा मार्ने क्रममा प्रहरीले लागुऔषध फेला पारेको थियो । तीन वटा मुद्दामा अनुसन्धान गरिएकोमा परिसरले केही दिनअघि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझायो । 

सरकारी कार्यालयले हिजो उनीविरुद्ध दुई वटा मुद्दा दायर गरेको हो । आजको थुनछेक बहसपछि उनलाई धरौटीमा छोड्ने आदेश भएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताएका छन् । 

प्रतिक्रिया