सुकुम्वासी बस्ती डोजर चलाउदा तनाव : ३ नगर प्रहरी घाइते

साझा लाल्टिन संवाददाता

काठमाडौं ३० साउन - काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले  ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । 

घटनास्थलमा रहेका  नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको हो ।  ‘बस्ती  हटाउनुअघि पटक–पटक सूचना दिइएको थियो तर अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो,’ उनले भने । 

डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर,टहरामा डोजर चलाइसकेको छ । अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया