चीन र भारतले हडप्न खोजेको लिम्पियाधुरा क्षेत्रबारे नेकपाको असहमति, विरोध र प्रतिरोध

साझा लाल्टिन संवाददाता

काठमाडौं ६ भदौ - भारत - चीनबीच नेपाललाई निषेध गर्दै गरिएको व्यापारिक तथा रणनीतिक सहमति प्रत्यक्ष हस्तक्षेप र राष्ट्रिय सार्वभौमसत्ताको उल्लंघन एवं नेपालको  हितअनुकूल नभएकाले नेपाल कम्युनिस्ट पार्टीले असहमति जनाएको छ  ।

नेपाल कम्युनिस्ट पार्टीका संयोजक बसन्त बोगटीले एक प्रेस विज्ञप्ति मार्फत भारत र चीन सरकारबीच भएको कालापानी - लिपुलेक मार्गमार्फत व्यापारिक तथा रणनीतिक मार्ग खोल्ने सहमतिप्रति असहमति, विरोध र प्रतिरोध गरेका छन् ।

कालापानी - लिपुलेक र लिम्पियाधुरा नेपालका रणनीतिक अंगहरू भएको जनाइएको छ । 

ऐतिहासिक दृष्टिले पनि यी क्षेत्रहरू नेपाल-तिब्बत-भारतबीचको प्राकृतिक, व्यापारिक र सांस्कृतिक ढोकाका रूपमा रहिआएको र यी भू-भाग नेपालको स्वाधीनता, सार्वभौमसत्ता र अखण्डताको प्रतिक भएको र यसको रक्षा नेपाली जनताको बलिदान, संघर्ष र चेतनासँग गहिरो रुपमा गाँसिएको हुदा नेपाली जनतालाई राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता रक्षाका लागि उठ्न, गोलबद्ध हुन र राष्ट्रिय मुक्ति आन्दोलनको स्वरूपमा सशक्त विरोध र रचनात्मक प्रतिरोधमा सहभागी हुन पनि विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

विज्ञप्तिमा संयोजक बसन्तले अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउदै नेपाल सरकार र संसदलाई यो विषयमा तत्काल आफ्नो धारणा सार्वजनिक गर्न, ठोस पहल लिन र देश-जनताको पक्षमा दृढतापूर्वक उभिन खबरदारी गरेका छन ।

प्रतिक्रिया