बागी उम्मेदवारलाई साथ दिएका गजुरेल भन्छन्– “मौन बस्नु राजनीतिक आत्महत्या हुन्थ्यो”

साझा लाल्टिन संवाददाता

२७ फागुन,काठमाडौं - सिन्धुली–२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि पार्टी कारबाहीमा परेका नेकपा नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वको अन्यायपूर्ण निर्णयविरुद्ध आफूले विद्रोह गरेको बताएका छन्।

गजुरेलले नेतृत्वले गरेको अपमानजनक निर्णयलाई मौन रूपमा स्वीकार गर्नु अन्यायको समर्थन हुने भन्दै जिल्ला पार्टीको आग्रहमा आफूले बागी उम्मेदवारको पक्ष लिएको स्पष्ट पारेका छन्। उनका अनुसार संघर्षका आफ्नै नियम हुने भएकाले कहिलेकाहीँ परिस्थितिले प्रतिरोधलाई नै अनिवार्य बनाउने गर्छ।

सिन्धुली–२ मा नेकपाले उम्मेदवारका रूपमा राजन दाहाललाई टिकट दिएपछि असन्तुष्टि जनाउँदै गजुरेल स्वतन्त्र उम्मेदवार महेश्वर दाहालको पक्षमा खुलेका थिए। यद्यपि निर्वाचनमा दुवै उम्मेदवार पराजित भएका छन्।

गजुरेलले आफूले विगतमा पार्टी एकता जोगाउने प्रयास गर्दा पनि एमालेमा जाने तयारी गरिरहेको भन्ने गलत प्रचार गरिएको गुनासो गरेका छन्। झूटलाई पटक–पटक दोहोर्‍याएर सत्य बनाउन खोज्ने प्रयास धेरै दिन टिक्न नसक्ने भन्दै अन्ततः समयले नै सत्य स्थापित गर्ने उनको दाबी छ।

उनले २०८२ असोज ९ मा बसेको केन्द्रीय समितिको बैठकमै नेतृत्वलाई रूपान्तरणका लागि महाधिवेशनसम्म समय दिनुपर्ने प्रस्ताव राखेको स्मरण गराउँदै त्यस अवधिमा विचार, कार्यशैली र आचरणमा सुधार हुने अपेक्षा गरेको बताए। तर टिकट वितरण प्रक्रियामा अपनाइएको अपारदर्शी र अनैतिक शैलीले परिस्थितिलाई नयाँ मोडमा पुर्‍याएको उनको भनाइ छ।

“जब प्रतिरोध गर या मरको अवस्था आउँछ, त्यतिबेला मौन बस्नु राजनीतिक आत्महत्या जस्तै हुन्छ,” गजुरेलले भनेका छन्।

उनका अनुसार आफूले रोजेको विद्रोह व्यक्तिगत स्वार्थका कारण नभई विचार, विधि–पद्धति, मूल्य र राजनीतिक नैतिकताको पक्षमा उभिएको कदम हो।

गजुरेलले अन्याय सहेर परिवर्तन सम्भव नहुने उल्लेख गर्दै इतिहासमा परिवर्तन सधैं अन्यायविरुद्ध उठेको साहसी आवाजबाट सुरु हुने बताएका छन्।

प्रतिक्रिया