१५ फागुन,काठमाडौं - केपी शर्मा ओलीले आसन्न निर्वाचनको निष्पक्षतामाथि शंका व्यक्त गर्दै सरकारलाई धाँधलीरहित वातावरण सुनिश्चित गर्न कडा चेतावनी दिएका छन्। झापाको दमकमा आयोजित ‘बासँग विद्यार्थी’ संवाद कार्यक्रममा बोल्दै उनले राज्य संयन्त्रको दुरुपयोग गरेर मत परिणाम प्रभावित पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।
उनका अनुसार यदि निर्वाचन प्रक्रिया निष्पक्ष र पारदर्शी नभए लोकतान्त्रिक शक्तिहरूले त्यस्तो परिणामलाई मान्यता नदिनेछन्। “धाँधलीको संकेत देखिए त्यसलाई तत्काल रोक्नुपर्छ, तर रोकिनेमा शंका छ,” उनले टिप्पणी गरे।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले विगतमा सार्वभौम संसद बलपूर्वक विघटन गरिनुले देशलाई अस्थिरता र संकटतर्फ धकेलेको दाबी गरे। उनले आगामी चुनावबाट एमाले पहिलो शक्ति बन्ने दाबी गर्दै देशका विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।