सुनसरीमा सशस्त्र प्रहरीको गोलीकाण्डपछि उग्र प्रदर्शन, लौकही बजार तनावमा

साझा लाल्टिन संवाददाता

 १७ पुस, काठमाडौं -  सुनसरीको लौकही बजार क्षेत्र सशस्त्र प्रहरीको गोली लागेर एक अटो रिक्सा चालकको ज्यान गएपछि तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले अश्रु ग्यास प्रयोग गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी विनोद घिमिरेका अनुसार अवस्था नियन्त्रणमा राख्न केही सेल अश्रु ग्यास प्रहार गरिएको हो । उनले भने, “स्थिति अहिले बिस्तारै सामान्यतर्फ उन्मुख हुँदैछ ।”

घटना बिहीबार राति करिब १ बजेको हो । कोशी गाउँपालिका–१ क्षेत्रमा तस्करी नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । साह भारतीय सीमावर्ती क्षेत्रबाट चिनी, सर्फ र सुर्तीजन्य सामग्री बोकेर घर फर्किँदै थिए । घर नजिकै सशस्त्र प्रहरीद्वारा चलाइएको दुई राउण्ड गोली उनको शरीरमा लागेको बताइएको छ ।

साहको मृत्युपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही खण्ड अवरुद्ध गर्दै प्रदर्शन चर्काएका छन् । प्रदर्शनकारीले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी तथा तोडफोडसमेत गरेका छन् ।

घटनापछि उत्पन्न तनाव समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा वार्ताको तयारी भइरहेको डीआईजी घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया