फागुन २१ मा शेरबहादुर देउवाले मत नहाल्ने ,कांग्रेसमा नयाँ समीकरण

साझा लाल्टिन संवाददाता

१३ फागुन,काठमाडौं - नेपाली कांग्रेसका पूर्व सभापति तथा पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवा फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्।

विशेष महाधिवेशनपछि सभापति पद गुमाएका देउवा निर्वाचन आयोगबाट आधिकारिकता नपाएपछि र सर्वोच्च अदालतले पनि अन्तरिम आदेश नदिँदा, उनी रुख चिह्नबाट चुनाव लड्न असफल भए। अन्ततः सभापति गगन थापाले टिकट नदिँदा देउवा निर्वाचनका सबै प्रक्रियाबाट बाहिर रहन बाध्य भएका हुन्।

पदाधिकारीहरूले देउवालाई पार्टीको चुनावी अभियानमा सहभागी गराउने प्रयास गरे पनि उनले कुनै प्रतिक्रियासहित मान्यता दिएका छैनन्। कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रयास भइरहेको बताए पनि, देउवाको सचिवालयले भेटघाट र प्रचारमा जान असम्भव भएको प्रष्ट पारेको छ।

स्रोतका अनुसार, “बदलियो कांग्रेस, बदल्छौं देश भन्ने नेताहरूले जबर्जस्ती पार्टी कब्जा गरेका छन्। अहिले देउवाले अपिल गर्दा पार्टीको भोट घट्ने सम्भावना रहेकाले उनी चुपचाप बसेको बताइन्छ ।”

डडेलधुराबाट लगातार सात चुनाव जितेका देउवा मतदानका लागि घरबाट बाहिर निस्किएका छैनन्। उनको सट्टा युवा नेता नैनसिंह महरले टिकट पाएका छन् र देउवाको फोटो प्रयोग गर्दै चुनाव प्रचार गरिरहेका छन्।

स्वास्थ्य र सुरक्षाका कारण देउवा डडेलधुरामा मतदानका लागि उपस्थित हुने सम्भावना लगभग न्यून भएको छ। निर्वाचन पछि कांग्रेसमा निर्णायक संघर्ष सुरु हुने अपेक्षा गरिएको छ, जुन कानूनी र राजनीतिक दुवै मोर्चाबाट हुनेछ।

प्रतिक्रिया