२१ चैत,काठमाडौं - कलाकार सागर लम्साल पक्राउ परेका छन्। काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
लम्सालमाथि अमेरिकामा बसोबास गरिरहेकी एक युवतीले बलात्कारको आरोप लगाएकी छन्। पीडित युवतीका अनुसार करिब एक वर्षअघि अमेरिकामै उक्त घटना भएको दाबी गरिएको छ।
यस घटनापछि लम्सालमाथि अनुसन्धान गर्न विभिन्न पक्षबाट दबाब बढ्दै गएको थियो। प्रहरीले अहिले आरोपको सत्यता पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाबारे आफ्नो अनुभव सार्वजनिक गर्दै ती युवतीले विश्वासको दुरुपयोग भएको बताएकी छन्। लामो समयदेखि चिनजान रहेको र परिवारले समेत विश्वास गर्ने व्यक्तिबाट आफूले पीडा भोग्नुपरेको उनले उल्लेख गरेकी छन्।