५ फागुन,काठमाडौं - राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको छ। उनलाई सोमबार साँझ भक्तपुरबाट नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार प्रसाईंविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइनेछ। उनले दिएको अभिव्यक्तिले सार्वजनिक शान्ति भंग हुन सक्ने देखिएकाले कारबाही थालिएको प्रहरीले जनाएको छ।
प्रसाईंले सरकारसँग भएको सहमति कार्यान्वयन नभए अनिश्चितकालीन बन्द आह्वान गर्ने र निर्वाचन हुन नदिने चेतावनी दिँदै आएका थिए। साथै, झुटा अफवाह फैलाएको आरोपमा समेत उनीमाथि छानबिन गरिने बताइएको छ।
यसअघि पनि उनी पटक–पटक पक्राउ परेका थिए। माघ २३ गते पक्राउ परेपछि हाजिरी जमानीमा रिहा भएका प्रसाईंमाथि निर्वाचनसम्बन्धी अभिव्यक्तिलाई आधार बनाएर नेपाल प्रहरी साइबर ब्युरोले अनुसन्धान गरेको थियो। त्यस्तै, माघ ५ गते पोखरा बाट पनि उनी पक्राउ परेका थिए।