नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।
बुधबार बसेको राष्ट्रिय भेलाको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको नाउपा अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा थारूले जानकारी दिएका छन् ।
उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो । उहाँबाट चित्तबुझ्दो जबाफ आएको र फेरि उहाँले विधानविपरीत कार्य गर्नुभयो,डगौराले भने, भेलामा उहाँलाई अध्यक्षबाट हटाउने आएको प्रस्ताव सर्वसम्मत पारित भयो ।
अध्यक्षबाट हटाइएकी श्रेष्ठ पोखराको लिची बगैंचा जग्गा प्रकरणमा मुछिएकी थिइन् । उनको अडिओसमेत सार्वजनिक भएको र त्यहीबारे पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो ।
उनले जबाफ दिइनन्, बरू वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेर हिँडेको भन्दै पार्टीमा असन्तुष्टि चुलिएको र संरक्षक रेशम चौधरीले त्यसरी कार्यवाहक तोक्ने व्यवस्था विधानमा नरहेको भन्दै आपत्ति जनाएका थिए ।
अब भोलि बस्ने बैठकले नयाँ अध्यक्ष तोक्ने डगौराले बताएका छन् ।
उनका अनुसार अध्यक्षमा रेशमका बुवा लालवीर चौधरीको नाम पनि चर्चामा छ । उनी बर्दियाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन् ।
बर्दियाबाट नाउपा संरक्षक रेशमले पनि उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारी खारेज गरेपछि पार्टीले स्वतन्त्र उठेका लालवीरलाई पार्टीले समर्थन गरेर चुनाव जिताएको थियो, उनी नाउपाका संस्थापक भने होइनन्।
२०७८ पुसमा रेशम चौधरीले जेलभित्रै बाट पार्टी दर्ता गरेका थिए । रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर दर्ता गरेको पार्टीमा २१ जना केन्द्रीय सदस्य थिए । उनीहरूमध्येबाटै अध्यक्ष बनाउनुपर्ने बाध्यता रहेको डगौराले बताएका छन् ।
‘संस्थापक सदस्यबाटै अध्यक्ष तोक्छौं । भोलि क-कसको नाम प्रस्ताव हुन्छ, त्यही आधारमा भन्न सकिन्छ, अहिले चर्चामा रहेको नाममा चाहिँ कानुनी जटिलता देखियो, उनले भनेका छन् ।
बुधबारको भेलाले २०१ सदस्यीय नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पनि उनले बताएका छन् ।