२९ फागुन,काठमाडौं - बाँके–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारले शिक्षकसम्बन्धी गरेको अभिव्यक्तिले सामाजिक सञ्जालमा ठूलो आक्रोश उब्जाएको छ।
सुनारले केही युट्युबरसँगको अन्तर्वार्तामा भनेका थिए, “हिजो हामीलाई पढाउँदा मास्टरले कन्चटको रौँ समातेर डस्टरले टाउकोमा हानेको जस्तै, अब त्यो मास्टरलाई उत्तानो पारेर पैतालामा भाटा हान्नुपर्छ।” उनले थपे, “म पनि शिक्षा संकायको विद्यार्थी हुँ, त्यसैले पढाउने तरिका राम्ररी थाहा छ।”
सुनारको यी अभिव्यक्तिप्रति शिक्षक समुदाय आक्रोशित बनेका छन्। धेरै शिक्षकले यसलाई विद्यार्थीप्रति नकारात्मक सन्देश फैलाउने कार्य भएको भन्दै आलोचना गरेका छन्। झन्डै दुई दशकदेखि अध्यापनमा संलग्न बालाराम खड्काले भने, “सुनार जस्तो सोच राख्ने व्यक्तिले संसदमा कसरी गरिमा कायम राख्ने हो?” उनले थपे, “बुबाआमा र गुरुजन्यको सम्मान गर्ने संस्कार सिक्न आवश्यक छ।”
अर्का शिक्षक जेएम पराजुलीले पनि चिन्ता व्यक्त गर्दै भने, “यस प्रकारका सोच भएका मान्छे पनि संसदमा पुगेका छन्, यो गम्भीर कुरा हो।” नयाँ शिक्षक छायाँ पौडेलले आफ्नो अनुभव सुनाउँदै भनिन्, “हामीले विद्यार्थीका लागि कहिल्यै यस्तो नकारात्मक सोच राखेनौँ। शिक्षकलाई कुट्नुपर्छ भन्ने सोच नक्कली र अस्वीकार्य हो।”
यसैबीच, नेपाल शिक्षक महासंघले पनि एक विज्ञप्ति जारी गर्दै सुनारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोरी सुवेदीले सुनारलाई माफी माग्न र भविष्यमा यस्तो अभिव्यक्ति व्यक्त नगर्न सचेत गराएका छन्।
सुनारले यसअघि पनि विवादास्पद अभिव्यक्तिहरु गर्दै आएको तथ्य सार्वजनिक छ। निर्वाचनअघि उनले ‘गाई काटेर खान पाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिँदा पनि विवादमा परेका थिए।
शिक्षक समुदाय र आम जनताको मनमा सुनारको अभिव्यक्तिले गम्भीर आलोचना र विरोध जन्माएको छ।