बालेन शाह घरबाहिर हुँदा निवासमा चोरी, ‘प्रोफेसनल’ गिरोहको आशंका

साझा लाल्टिन संवाददाता

१७ माघ, काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको मण्डिखाटारस्थित निवासमा चोरी भएको छ। मेयर बालेन र उनकी पत्नी घरबाहिर रहेको समयमा उक्त घटना भएको हो।

शुक्रबार साँझ घरको हेरचाहका लागि नियमित रूपमा पुग्ने बालेनका मामा–ससुराका छोराले घर पुगेपछि चोरी भएको थाहा पाएका थिए। घर पुग्दा मूल ढोका फोडिएको, भित्रका सामानहरू अस्तव्यस्त अवस्थामा रहेको देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसिटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्सामा प्रयोग हुने धाराका टुटीहरू समेत चोरी गरेर लगेका छन्। अन्य सामग्री पनि चोरी भएको हुनसक्ने आशंका गरिएको भए पनि त्यसको विस्तृत विवरण भने आइसकेको छैन।

घटनाको सूचना पाएसँगै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोली अनुसन्धानमा खटिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेको अनुमान गरिएको छ। सिसिटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो घटना ‘प्रोफेसनल’ चोरहरूको समूहले योजनाबद्ध रूपमा गरेको हुनसक्ने प्रहरीको भनाइ छ। चोरीको घटना गत १४ गतेदेखि शुक्रबार साँझको बीचमा भएको हुनसक्ने अनुमान गरिएको छ।

हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र शंकास्पद व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया