७ पुस, काठमाडौं - पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्किएकी छिन् ।
जेनजी आन्दोलनका क्रममा खनाल दम्पती बसोबास गर्ने निवासमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था हाल स्थिर र सुधारोन्मुख भएपछि उनी नेपाल फर्किन सफल भएकी हुन् ।
गत २४ भदौमा भएको आगजनी घटनामा चित्रकारको शरीरको करिब १५ देखि १७ प्रतिशत भाग जलेको थियो । विशेषगरी देब्रे हातमा गम्भीर चोट लागेपछि घाउमा सङ्क्रमण फैलिँदै जाँदा उनको अवस्था जटिल बनेको थियो ।
सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइए पनि फोक्सोमा निमोनियाको सङ्क्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत नयाँ दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो । त्यहाँ लामो समयसम्म आइसियूमा राखेर सघन उपचार गरिएको थियो ।
चिकित्सकहरूले सङ्क्रमण नियन्त्रणमा ल्याउन कडा प्रयास गर्नुपरेको र अन्ततः सङ्क्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको अस्पताल स्रोतले जनाएको छ ।
शल्यक्रियापछि क्रमशः स्वास्थ्यमा सुधार देखिन थालेपछि उनलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो । पछिल्ला केही सातादेखि उनी अस्पतालबाहिर बसेर नियमित फलोअप र थप उपचार गराउँदै आएकी थिइन् ।
स्वास्थ्य अवस्था स्थिर भएपछि चित्रकार सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ आइपुगेकी हुन् । नेपाल फर्किएपछि उनलाई डल्लुस्थित भाडाको घरमा राख्ने तयारी गरिएको छ ।