१२ फागुन,काठमाडौं - दाङबाट रोल्पातर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा पर्दा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास क्षेत्रमा दुर्घटना भएको हो। दाङको घोराहीबाट परिवर्तन गाउँपालिका–६ बागमारा जाँदै गरेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार दुर्घटनामा परी परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको ज्यान गएको हो।
जिपमा चालकसहित ११ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
24 February 2026