२८ पुस, काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा मौलाउँदै गएको पपुलिजम र अराजकतावादी प्रवृत्तिलाई लोकतन्त्रमाथिको प्रत्यक्ष आक्रमण भएको ठहर गरेका छन्। विशेष महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमार्फत उनले ‘चमत्कार देखाउने’ नाममा लोकतान्त्रिक प्रणाली, संस्था र संविधानलाई कमजोर पार्ने पात्रहरूलाई स्पष्ट रूपमा कटघरा खडा गरेका छन्।
उनले विश्वभर फैलिएको पपुलिस्ट उन्माद अब नेपालमा पनि घातक रूपमा प्रवेश गरिसकेको भन्दै चेतावनी दिएका छन्। लोकतन्त्रलाई ‘एक झट्कामा सब ठीक गर्छु’ भन्ने झुटो सपनामा बेच्ने पात्रहरूले प्रणाली होइन, अराजकता जन्माइरहेको गगनको आरोप छ।
प्रतिवेदनमा भनिएको छ
“लोकतन्त्र कुनै जादु होइन, कुनै एक व्यक्तिको चमत्कार पनि होइन। यो विधि, संस्था, प्रक्रिया र उत्तरदायित्वमा आधारित प्रणाली हो। तर आज केही पात्रहरूले लोकतन्त्रलाई कमजोर पारेर ‘मसीहा’ बन्ने भ्रम फैलाइरहेका छन्।
गगन थापाले सरकार, पार्टी र संस्थाहरूलाई बदनाम गरेर व्यक्तिगत लोकप्रियता बटुल्ने प्रवृत्तिलाई लोकतन्त्रको सबैभन्दा ठूलो खतरा मानेका छन्। उनका अनुसार संस्थालाई ध्वस्त पारेर व्यक्ति केन्द्रित राजनीति थोपर्ने अभियान नै अहिलेको पपुलिजम र अराजकतावाद हो।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहतर्फ संकेत गर्दै उनले लोकतान्त्रिक मूल्य र संविधानमाथि प्रहार गर्ने प्रवृत्तिबाट जनता सचेत हुनुपर्ने आह्वान गरेका छन्।
लोकतन्त्र प्रणालीप्रधान हुन्छ, व्यक्ति प्रधान होइन। नियम, विधि र संस्थाबिना कुनै पनि समाज टिक्दैन। तर अहिले देशलाई ‘चमत्कारी नेता’ को भ्रममा धकेल्ने खतरनाक खेल भइरहेको छ प्रतिवेदनमा कडा शब्दमा उल्लेख गरिएको छ।
गगन थापाले नेपाली कांग्रेसलाई उदार, समावेशी र बहुलवादी लोकतन्त्रको अन्तिम किल्ला भन्दै संविधान, संस्था र लोकतान्त्रिक मूल्य जोगाउने ऐतिहासिक जिम्मेवारी कांग्रेसकै काँधमा रहेको दाबी गरेका छन्।