४ फागुन,काठमाडौं - रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्रता दिँदै आम मतदाताबाट प्राप्त साथ र समर्थनले आफूलाई थप ऊर्जावान बनाएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले जनताबाट प्राप्त माया, विश्वास र हौसलाले चुनावी यात्रामा सकारात्मक ऊर्जा थपिएको उल्लेख गरेकी छन्।
उनले भरतपुर महानगरपालिकामा करिब नौ वर्ष नेतृत्व सम्हाल्दा देखाएको प्रतिबद्धता, पारदर्शिता र इमान्दारिताकै आधारमा जनविश्वास मजबुत बनेको अनुभूति भएको बताइन्। विगतको कार्यसम्पादन नै आगामी यात्राको आधार भएको उनको भनाइ छ।
निर्वाचन प्रतिस्पर्धामा जीत र हार दुवै स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै दाहालले आफू लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। यद्यपि मतदाताको विश्वास र उत्साहजनक सहभागिताका आधारमा फराकिलो मतान्तरसहित विजयी हुने आत्मविश्वास रहेको उनले जनाएकी छन्।
यस क्रममा उनले केही सञ्चारमाध्यमले मत सर्वेक्षणको नाममा आचारसंहिताविपरीत भ्रामक सामग्री प्रसारण गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन्। यस्ता गतिविधिले निष्पक्ष निर्वाचन प्रक्रियामा असर पार्न सक्ने भन्दै कपोलकल्पित तथा भ्रमपूर्ण सामग्री प्रकाशन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरिन्।
लोकतान्त्रिक संस्कारको सम्मान गर्दै स्वच्छ र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सबै राजनीतिक दल, सञ्चारमाध्यम र मतदाताको सक्रिय सहकार्य आवश्यक रहेको उनको जोड छ।