काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार ओखलढुंगामा कमल तामाङको नेतृत्वमा रहेको सुनकोशी गाउँपालिका प्रथम भएको छ । जिल्लाका आठ स्थानीय तह मध्ये सुनकोशीले सबैभन्दा बढी ६४.६९ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो ।
आयोगले प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका १७ वटा कार्यसम्पादन सूचकका आधारमा मूल्याङ्कन गरी अंक प्रदान गरेको जनाएको छ । सोही नतिजाअनुसार मोलुङ गाउँपालिकाले ६०.९९, खिजीदेम्बा गाउँपालिकाले ६०.८४, लिखु गाउँपालिकाले ६०.७७ र सिद्धिचरण नगरपालिकाले ५७.०३ अंक प्राप्त गरेका छन् ।
त्यसैगरी चिशंखुगढी गाउँपालिकाले ५५.६४ र चम्पादेवी गाउँपालिकाले ४७.७३ अंक प्राप्त गरेका छन् भने सबैभन्दा कम ४७.५४ अंक मानेभन्ज्याङ गाउँपालिकाले पाएको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ बमोजिम मूल्याङ्कन गरिएको जनाएको छ । आर्थिक वर्ष २०८३/०८४ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा मूल्याङ्कन गरिएको हो ।
प्राप्त अंकप्रति चित्त नबुझेमा कार्यविधि २०७८ को दफा ९ अनुसार सूचना प्रकाशित भएको मिति २०८२ माघ २९ गतेदेखि सात दिनभित्र आवश्यक आधार र प्रमाणसहित अनुसूची–५ को ढाँचामा इमेलमार्फत पुनरावलोकनका लागि निवेदन दिन सकिने आयोगले जनाएको छ ।