खलनायक बनेर इतिहासमा हराउन चाहन्नँ, देश सही दिशामा नपुग्दासम्म विश्राम लिन्नँ : प्रचण्ड

साझा लाल्टिन संवाददाता

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको स्पष्ट पारेका छन्।

आइतबार साँझ जेनजी र राष्ट्रका नाममा सम्बोधन गर्दै संयोजक प्रचण्डले देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम नलिने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, “यदि म धेरैअघि नै विदा भएको भए सायद देशले मलाई नायकको रूपमा मात्रै सम्झिन्थ्यो होला। तर म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। देशलाई सही दिशामा नपुर्‍याएसम्म म विश्राम लिने छैन।”

आफूलाई आज कसरी हेर्ने भन्ने कुरा जनताको स्वतन्त्रता र अधिकार भएको उल्लेख गर्दै उनले आफ्नो अनुपस्थितिमा मात्रै आफ्ना कामको मूल्यांकन हुने दाबी गरे। “मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईंहरूले मैले कोरेका परिवर्तनहरू भोग्नुहुनेछ,” उनले भने, “म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन।”

संयोजक प्रचण्डले आफू नयाँ विचारहरूका लागि सधैँ खुला रहेको र नयाँ पुस्तालाई स्वागत गर्दै नयाँपन आत्मसात गर्न तयार रहेको बताए। तर उनले हरेक चम्किलो चिज हिरा नहुने भन्दै सचेत रहन आग्रह गरे।

डिजिटल युगमा सामाजिक सञ्जालबाट फैलिने भ्रमप्रति सचेत गराउँदै उनले युवाहरूलाई कसैको कारण सानो महसुस नगर्न आग्रह गरे। “सामाजिक सञ्जालका भ्रमहरूले तपाईंहरूलाई बहकाउन सक्छन्,” उनले भने।

उनले नवपुस्तालाई प्रश्न गर्न नछाड्न आग्रह गर्दै आफू जवाफ दिन सधैँ तयार रहेको बताए। “प्रश्न सोध्न नछोड्नुहोस्। मलाई अझ बढी दबाब दिनुहोस्, म त्यसको सामना गर्न तयार छु, किनकि मेरो शक्तिको स्रोत तपाईंहरू नै हो,” उनले भने।

संयोजक प्रचण्डले आगामी २० वर्ष परीक्षण र त्रुटिमा नयाँ नेतृत्व जाँच्ने समय देशसँग नभएको पनि उल्लेख गरे। “आउनुहोस्, मिलेर यस्तो नेपाल बनाऔं, जहाँ कुनै पनि युवाले आफ्नो भविष्य खोज्न विदेशिनु नपरोस्,” उनले आग्रह गरे।

प्रतिक्रिया