काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनबाट ओखलढुंगाकी नेतृ बाला अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।
ओखलढुंगाको राजनीतिमा प्रभावशाली नेतृका रूपमा परिचित अधिकारी नेपाली कांग्रेस ओखलढुंगाकी महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन्। उनी नेपाल पत्रकार महासंघ ओखलढुंगाको पूर्व कार्यबाहक अध्यक्षसमेत रहिसकेकी छन्।
ओखलढुंगाको राजनीतिक इतिहासमा नेपाली कांग्रेसबाट महिला नेतृ पहिलो पटक केन्द्रीय सदस्य बन्नु ऐतिहासिक उपलब्धि मानिएको छ। अधिकारीले यो जिम्मेवारी पाएकोमा ओखलढुंगाका कांग्रेस कार्यकर्ताहरूले खुसी व्यक्त गर्दै यसलाई जिल्लाका लागि गौरवपूर्ण क्षणका रूपमा लिएका छन्।
विशेष महाधिवेशन अन्तर्गत गएराति सम्पन्न निर्वाचनबाट गगन थापा सभापतिमा निर्विरोध चयन भएका छन्। त्यसैगरी उपसभापति, महामन्त्रीसहित सम्पूर्ण केन्द्रीय कार्यसमिति पनि निर्विरोध चयन भएको पार्टीले जनाएको छ।
नवगठित नेतृत्वले पार्टी एकता मजबुत बनाउँदै संगठन विस्तार र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।