गगन थापा भन्छन देउवा, कोइराला र खड्काबाट अभिभावकको भूमिका अपेक्षा छ

साझा लाल्टिन संवाददाता

३ माघ, काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्न वरिष्ठ नेताहरूले अभिभावकको भूमिका खेल्नुपर्ने बताएका छन्। शनिबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पार्टीलाई एकताबद्ध बनाउने भूमिका अपेक्षा गरिएको स्पष्ट पारे।

थापाका अनुसार कांग्रेसलाई एक ढिक्का बनाउने जिम्मेवारी अहिले अनुभवी नेताहरूको काँधमा छ। देउवाजी अब कार्यकारी भूमिकामा हुनुहुन्न, त्यसैले उहाँले संरक्षकका रूपमा देशभरका साथीहरूलाई अब विवाद रोक्न आग्रह गर्नुपर्छ, उनले भने, अहिलेसम्म मतभेद हुनु स्वाभाविक थियो, तर अब त्यो टुंगिनुपर्छ।

उनले शेखर कोइराला र पूर्णबहादुर खड्काबाट पनि समान किसिमको सहयोग र मार्गदर्शनको अपेक्षा गरिएको बताए। पार्टीभित्र देखिएको असन्तुष्टि समाधान नगरे कांग्रेस कमजोर हुने थापाको भनाइ थियो।

पुस २७ देखि माघ १ गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई माघ २ गते निर्वाचन आयोगले औपचारिक मान्यता दिएको थियो। तर त्यस निर्णयप्रति देउवा पक्षका केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। सोही क्रममा कार्यवाहक सभापति खड्काले आन्दोलन र कानुनी प्रक्रियाको कुरा उठाएका थिए।

यद्यपि, थापाले अब संवादमार्फत समाधान खोज्ने प्रयास तीव्र बनाएको बताएका छन्। दुई–तीन दिनभित्र सबै नेताहरूलाई एउटै टेबलमा बसालेर पार्टीको आगामी बाटो तय गर्ने तयारीमा छु, उनले भने, संवाद सुरु भइसकेको छ र विभिन्न तहमा छलफल भइरहेको छ।

प्रतिक्रिया