३० फागुन,काठमाडौं - नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले आज बसेको पार्टी सचिवालय बैठकमा चुनावी समीक्षाबारे औपचारिक छलफल नभएको बताएका छन्। अध्यक्ष केपि शर्मा ओलीलाई शोक परेकाले उक्त विषयमा विस्तृत छलफल पछि मात्रै हुने उनले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टले चुनावी समीक्षा पार्टीका लागि महत्वपूर्ण विषय भए पनि अहिले केन्द्रले छुट्टै निर्देशन दिनुपर्ने अवस्था नरहेको बताए। उनका अनुसार पार्टीका विभिन्न तह—वडा र स्थानीय स्तरबाटै समीक्षा बैठकहरू भइरहेका छन् र त्यसको प्रतिवेदन तयार पार्ने काम चलिरहेको छ।
भट्टले पार्टीले गरेका काम र उपलब्धि जनतासम्म प्रभावकारी रूपमा पुर्याउन नसक्नु कमजोरी रहेको स्वीकार गरे। विशेषगरी भदौ २३ र २४ का घटनाबारे सही तरिकाले जनतामाझ जानकारी दिन नसक्दा त्यसको असर अहिलेको परिणाममा देखिएको उनको भनाइ थियो।
उनले ती घटनाक्रमसँग सम्बन्धित वास्तविकता र पार्टी नेतृत्वको भूमिकाबारे स्पष्ट सन्देश जनतासम्म पुग्न नसक्दा एमाले र नेतृत्वविरुद्ध नकारात्मक भाष्य बनेको बताए। त्यही भाष्यका कारण जनमत एमालेको पक्षमा नआएको उनको निष्कर्ष छ।