इरानमाथि अमेरिका र इजरायली सैन्य हस्तक्षेपविरूद्ध नेपालका १३ विद्यार्थी सङ्गठनको आपत्ति

साझा लाल्टिन संवाददाता

काठमाडौँ ९ असार - इरानमाथि अमेरिका र इजरायली सैन्य हस्तक्षेपविरूद्ध नेपालका विभिन्न १३ विद्यार्थी सङ्गठनहरूले सोमबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटा, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ, अनेरास्ववियु (छैठौं) का सुवास जीसी, अखिल (क्रान्तिकारी) का विरेन्द्र शाह, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष प्रकाश चाम्लिङ, राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष बलबहादुर रमतेल लगायत १३ विद्यार्थी सङ्गठनले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । 

विद्यार्थी सङ्गठनहरूले संयुक्त विज्ञप्तिमार्फत इरानमाथि गरिएको आक्रमणलाई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादा विपरीत भनेका छन् । 

विद्यार्थी संगठनहरूद्धारा जारी विज्ञप्तिमा भनिएको छ, संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएको हालको सैन्य आक्रमण पूर्ण रूपमा अशोभनीय, आधारहीन र आक्रामक छ । यसले इरानको सार्वभौमिकता उल्लङ्घन गर्दै अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरेको छ । 

विज्ञप्तिमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थाले पटक–पटक इरानले आणविक हतियार विकास नगरेको पुष्टि गरिसकेको अवस्थामा समेत पश्चिमेली मुलुकहरूले गलत बहानामा हमला गरिरहेको उल्लेख छ । इरानमाथिको आक्रमण अमेरिकी साम्राज्यवादको रणनीतिक विस्तारको भाग भएको समेत जारी विज्ञप्तिमा उल्लेख छ । 

मध्यपूर्वमा शक्ति सन्तुलन भङ्ग गर्ने रणनीतिक उद्देश्यसहित भइरहेको यो हस्तक्षेप इजरायलले प्यालेस्टाइनमाथि गरेको निरन्तर आक्रमणको निरन्तरता भएको समे विज्ञप्तिमा भनिएको छ । विद्यार्थी सङ्गठनहरूले यसलाई साम्राज्यवादी शक्तिको कठपुतली नीतिको अङ्ग भनेका छन् ।

उनीहरूले तत्काल सैन्य आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदाय र नागरिक समाजलाई आह्वान गरेका छन् । साथै, प्रगतिशील, लोकतान्त्रिक र साम्राज्यवाद विरोधी विद्यार्थीहरूलाई विश्वव्यापी विरोधमा उत्रिन अपिल गरिएको छ ।

प्रतिक्रिया