म सांसद पनि थिइनँ , महाकाली सन्धिबारे घिमिरेको प्रतिवाद

साझा लाल्टिन संवाददाता

१५ फागुन,काठमाडौं - झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख देवराज घिमिरेले महाकाली सन्धिलाई लिएर आफूविरुद्ध फैलाइएको भनिएको भ्रमबारे स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जालमा उठेका प्रश्न र आरोपप्रति प्रतिक्रिया दिँदै उनले सन्धिसम्बन्धी कुनै पनि निर्णय प्रक्रियामा आफ्नो औपचारिक संलग्नता नरहेको दाबी गरेका हुन्।

जारी विज्ञप्तिमा उनले महाकाली सन्धिबारे आफू स्पष्ट रहेको र उठाइएका प्रश्नको जवाफ दिइरहेको उल्लेख गरेका छन्। घृणाको राजनीति गर्न खोज्नेहरूलाई सन्धिको अध्ययन–विश्लेषण गर्न आग्रह गर्दै उनले तथ्यभन्दा बाहिर गएर आरोप लगाउनु उचित नभएको बताएका छन्।

केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोप्रति संकेत गर्दै घिमिरेले नियोजित रूपमा भाइरल बनाउने उद्देश्य राखिएको दाबी गरेका छन्। उक्त भिडियो एक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भइरहेको उल्लेख गर्दै उनले आफूले कुनै पनि सन्धिमा हस्ताक्षर नगरेको प्रस्ट पारे। सन्धि भएको समयमा आफू सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवार पदमा नरहेको उनको भनाइ छ।

लोकतान्त्रिक पार्टीभित्र हुने बहसलाई सामान्य प्रक्रियाको रूपमा व्याख्या गर्दै उनले आफूले पार्टीभित्र मत व्यक्त गरेको मात्रै बताए। “पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्छ भन्ने बुझाइ नै गलत हो,” उनले स्पष्ट पारेका छन्।

करिब पाँच दशकदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै घिमिरेले राजनीति आफ्नो लागि पेसा नभई सेवा भएको जिकिर गरेका छन्। ओहदा वा लाभका लागि राजनीति नगरेको दाबी गर्दै उनले तीन वर्षअघि पाएको राजकीय जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गरेको बताएका छन्। साथै, आफ्नो निर्वाचन क्षेत्र झापा–२ मा भएका कामको मूल्याङ्कन गर्न मतदातासँग अपिल गर्दै त्रुटि भेटिए स्वीकार गर्न तयार रहेको समेत जनाएका छन्।

प्रतिक्रिया