अन्तर्राष्ट्रिय मजदुर दिवसमा मजदुर संगठनको आह्वान: अधिकार सुनिश्चित गर्न संघर्ष सशक्त बनाउन अपिल

साझा लाल्टिन संवाददाता

काठमाडौं - १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले मजदुर अधिकारको सुनिश्चितताका लागि संघर्षलाई अझ सशक्त बनाउन आह्वान गरेको छ।

महासंघले एक अपिल जारी गर्दै सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको ऐतिहासिक विरासतलाई स्मरण गर्दै नेपाली मजदुरहरूले अझ संगठित र सशक्त भएर श्रम शोषण तथा उत्पीडनविरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता औंल्याएको छ।

जारी अपिलमा वर्तमान सरकारले “जनमैत्री सरकार” को नारा दिए पनि जनजीविकाका आधारभूत समस्या समाधानमा पर्याप्त ध्यान नदिएको आरोप लगाइएको छ। मजदुरहरूको संगठन स्वतन्त्रता, न्यूनतम ज्याला, कार्यस्थल सुरक्षा र सामाजिक सुरक्षाजस्ता विषयमा सरकार गम्भीर नदेखिएको महासंघको भनाइ छ।

त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बढ्दो महँगी, बेरोजगारी र वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्या जटिल बन्दै गएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ। उद्योगधन्दा बन्द हुने क्रम बढ्दै जाँदा श्रम बजारमा असुरक्षा चुलिएको उल्लेख गरिएको छ।

महासंघले मजदुरहरूको हक, अधिकार, सम्मान र सामाजिक न्याय सुनिश्चित गर्न सबै मजदुरहरूलाई एकजुट भई संघर्षमा उत्रिन आह्वान गरेको छ। साथै, मजदुर दिवसको अवसरमा देशभरि विभिन्न कार्यक्रम, छलफल तथा जागरण अभियान सञ्चालन गरिएको जानकारी दिइएको छ।

महासंघले आफ्ना मागहरूमा महँगी नियन्त्रण, तलब वृद्धि, स्थायी रोजगारीको सुनिश्चितता, सामाजिक सुरक्षा, ठेक्केदारी प्रणाली खारेज, श्रमिक अधिकार संरक्षण तथा शोषण–दमन अन्त्य लगायतका विषय उठाएको छ। 

क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालको अपिल



प्रतिक्रिया