१४ फागुन,काठमाडौं - पुष्पकमल दाहाल प्रचण्डले झापा–५ मा कुनै पनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा फैलिएको गठबन्धनसम्बन्धी चर्चालाई निराधार बताउँदै उनले पार्टी पंक्तिलाई ढुक्क भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएका हुन्।
झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रन्जित तामाङका अनुसार बिहीबार भएको टेलिफोन संवादमा प्रचण्डले “कहीँ पनि अलायन्स हुँदैन, कुनै छलफल भएको छैन र हुने पनि छैन” भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेका थिए। उनले संगठनलाई दृढतापूर्वक मैदानमा उत्रिन र प्रचारलाई तीव्र बनाउन समेत भनेका छन्।
तामाङले आफूले पूर्व क्षेत्रमा विशेष सभा आयोजना गर्ने प्रस्ताव राखेको र त्यसमा प्रचण्डलाई सहभागी हुन निम्तो दिएको जानकारी दिए। झापामै ठूलो चुनावी सभा गर्ने तयारीबारे पनि उनले अध्यक्षलाई ब्रिफिङ गरेको बताए।
यसअघि काठमाडौंमा बुद्धिजीवीहरूसँगको छलफलमा प्रचण्डले विदेशी प्रभावविरुद्ध लड्न ठूला राजनीतिक शक्तिहरूबीच संवाद आवश्यक हुन सक्ने बताएका थिए। सो अभिव्यक्तिपछि झापा–५ र दाङ–२ लगायत क्षेत्रमा कांग्रेस–एमालेसँग सहकार्य हुन लागेको अड्कलबाजी सुरु भएको थियो।
तर पछिल्लो संवादमार्फत प्रचण्डले झापा–५ मा कुनै गठबन्धन नहुने सन्देश स्पष्ट रूपमा दिएका छन्।