घरदैलोमै सबैभन्दा बढी खर्च: बालेन्द्र शाहले बुझाए चुनावी खर्च विवरण

साझा लाल्टिन संवाददाता

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा चुनावी खर्च बुझाएका छन्। 

सोमबार आयोगमा बुझाएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

शाहले सबैभन्दा बढी खर्च १५ दिनसम्म सञ्चालन गरिएको वडास्तरीय घरदैलो कार्यक्रममा गरेको विवरण दिएका छन्। उक्त अभियानमा मात्रै ५ लाख ८० हजार रुपैयाँ खर्च भएको उनले आयोगमा पेश गरेको विवरणमा उल्लेख छ।

त्यस्तै, सबैभन्दा कम खर्च उम्मेदवारी दर्तामा भएको देखिएको छ। उम्मेदवारी दर्ताका लागि उनले १० हजार रुपैयाँ मात्रै खर्च भएको विवरण बुझाएका छन्।

शाहले निर्वाचन आयोगमा बुझाएको विवरणमा प्रचारप्रसार, कार्यक्रम सञ्चालन, यातायात, स्वयंसेवक व्यवस्थापन लगायत विभिन्न शीर्षकमा भएको खर्च समेटिएको छ।

उनले पेश गरेको विवरणअनुसार चुनावी अभियानमा भएको खर्च पारदर्शी रूपमा सार्वजनिक गरिएको बताएका छन्। निर्वाचन आयोगले उम्मेदवारहरूलाई निर्वाचन सम्पन्न भएको निश्चित समयभित्र आफ्नो चुनावी खर्च विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।


प्रतिक्रिया