०२ चैत,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई लक्षित गर्दै दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी चैत ३ र ४ गते काठमाडौँमा सञ्चालन हुने तय गरिएको पार्टीले जनाएको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रशिक्षणमार्फत नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, दायित्व तथा पार्टीको नीतिगत दिशाबारे जानकारी गराइनेछ। सांसदहरूले संसद्मा निर्वाह गर्नुपर्ने भूमिका स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए।
पार्टीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत ३ गते बिहान ९ बजेसम्म काठमाडौँ उपत्यकाभित्रको तोकिएको स्थानमा उपस्थित हुन निर्देशन दिएको छ। कार्यक्रम भने सोही दिन बिहान १० बजेदेखि औपचारिक रूपमा सुरु हुने तालिका छ।
अभिमुखीकरणमा संसद्मा प्रभावकारी उपस्थिति कसरी बनाउने, जनसरोकारका मुद्दा कसरी उठाउने लगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिने योजना रहेको छ।
रास्वपाले यस कार्यक्रमलाई आफ्नो संसदीय यात्राको महत्वपूर्ण तयारीका रूपमा लिएको बताइएको छ। महामन्त्री बुर्लाकोटीले कार्यक्रमको समय र तालिका अनुसार सबै सांसदहरूलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्।