काठमाडौँ २१ असार - नेकपा माओवादी केन्द्र लगायत पाँच कम्युनिस्ट पार्टीहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध साझा कार्यक्रम गर्ने निर्णय गरेका छन् ।
माओवादी कार्यालय पेरिसडाँडामा शनिबार बसेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरूको बैठकले मध्यपूर्वमा इजरायली हस्तक्षेपको विरोधका साझा कार्यक्रम गर्ने निर्णय भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिएका छन् ।
प्यालेस्टिनीमाथिको बर्बरतापूर्ण इजरायली नरसंहारको विरोधमा विरोध अभियान नै सञ्चालनका लागि संयन्त्र गठन गर्नेसम्मका विषयमा छलफल भएको उनले बताएका छन् ।
इजरायलको विरुद्ध माओवादी केन्द्र सहितका दलहरू विरोधमा उत्रिएको जानकारी गराउँदै गुरुङले अन्य दलसँग पनि छलफल अघि बढाइने धारणा राखेका छन् ।
बैठकमा नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी माओवादी) का कार्यवाहक महासचिव सीपी गजुरेल र नेकपा (विप्लव) का प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताहरू सहभागी थिएका थिए ।