जनता तुइनमा, नेता घोषणापत्रमा

साझा लाल्टिन संवाददाता

५ फागुन,काठमाडौं - सर्केगाड गाउँपालिका-२, रिप गाउँका २१९ घरधुरीका बासिन्दा अझै कर्णाली नदी पार गर्न तुइनमा चढ्न बाध्य छन्। जनजीवन जोखिममा छ, तर चुनावी एजेन्डा र राजनीतिक योजनामा उनीहरूको पीडा छैन।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा वि.स. २०७२ मा तुइन विस्थापन गरेर झुलुङ्गे पुल बनाउने निर्णय भइसकेको थियो। तर आठ वर्ष बित्दा पनि त्यो योजना केवल कागजमै सीमित रह्यो। ०८१ सालमा ओली फेरि प्रधानमन्त्री भए, तर सडक र पुलको आधारभूत आवश्यकता भने राजनीतिक दलहरूको ध्यानमै आएन।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ। हुम्लाका दलहरू-नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा, प्रलोपा, र राप्रपा-मुख्यत: हिल्सा नाकामा क्वारेन्टाइन, कर्णाली करिडोर, उत्तर–दक्षिण लोकमार्ग, चीन–भारत जोड्ने फास्ट ट्रयाकको कुरा गरिरहेका छन्।

तर सर्केगाडका बासिन्दाको जीवनसँग सम्बन्धित मूल समस्या सुरक्षित पुल कुनै उम्मेदवारको एजेन्डामा छैन।

तत्कालीन गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको घर छाउने जस्तापात तुइनबाट नदीमा खसेर बगेको घटना यसैको उदाहरण हो। वडाध्यक्ष सिद्ध कार्कीका अनुसार, रिप गाउँकै जोर फडेराका ४५ वटा जस्तापातासमेत तुइनबाट नदीमा खसेर बगेको छ। केही महिनाअघि ३० वर्षीय आइती कार्की तुइनबाट खसेर  घाइते भइसकेका छन्।

रिपवासी चामल, खाद्यान्न र अन्य आवश्यक सामग्री गाउँमा पुर्‍याउन तुइनमा चढ्न बाध्य छन्। तर सामग्री खस्छ, जीवन जोखिममा पर्छ । यो उनीहरूको दैनिक वास्तविकता हो।

 राजनीतिक दलहरू ठूलो सडक र अन्तर्राष्ट्रिय परियोजनाको कुरा गर्छन्, तर ग्रामीणहरूको जीवन सुरक्षा, आधारभूत आवश्यकता र जीवन–मृत्युको प्रश्न उनीहरूको एजेन्डामा छैन।

सर्केगाडका बासिन्दा हरेक दिन रगत, पसिना र डरबीच तुइनमा चढिरहेका छन्, तर राजनीतिक घोषणापत्रले यस पीडालाई बेवास्ता गरेको छ।


प्रतिक्रिया