काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले विदेशी दलाल तथा दलाल संसदीय व्यवस्थाको कठपुतली उम्मेदवार आशिका तामाङसँग पार्टीको कुनै पनि किसिमको सम्बन्ध नरहेको स्पष्ट पारेको छ।
पार्टीले जारी गरेको प्रेस विज्ञप्तिमा केही व्यक्ति तथा समूहले पार्टीको नाम दुरुपयोग गर्दै निर्वाचन अधिकारको अभियानका क्रममा विदेशी दलालको मतियार बनेर भ्रामक प्रचार गरिरहेको आरोप लगाइएको छ। पार्टीका अनुसार दलाल संसदीय व्यवस्थालाई बल पुग्ने कुनै पनि गतिविधिमा आफ्नो संलग्नता नरहेको र त्यस्तो प्रचार पूर्णतः गलत, भ्रामक र दुर्भावनापूर्ण हो।
विज्ञप्तिमा पार्टीले आफ्नो नाम, झण्डा, चिन्ह वा विचारलाई तोडमोड गरी प्रयोग गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै यस्ता गतिविधि तत्काल रोक्न चेतावनी दिएको छ। साथै, पार्टीविरुद्ध झुट्टा प्रचार गर्नेहरूलाई सचेत रहन आग्रह गर्दै आवश्यक परे कानुनी र राजनीतिक कदम चालिने स्पष्ट गरिएको छ।
पार्टीले सञ्चारमाध्यमहरूलाई पनि यस्ता विषयमा तथ्य जाँच नगरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। दलाल संसदीय व्यवस्थाविरुद्ध जनसंघर्षलाई तीव्र बनाउने आफ्नो अडान कायमै रहेको बताउँदै पार्टीले क्रान्तिकारी अभियान निरन्तर अघि बढ्ने जनाएको छ।
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति