वाईसीएलद्वारा चुनाव लक्षित सुरक्षा तथा परिचालन योजना सार्वजनिक

साझा लाल्टिन संवाददाता

१८ माघ, काठमाडौं - योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले आसन्न निर्वाचनलाई केन्द्रमा राख्दै संगठनात्मक तथा सुरक्षा संरचना सक्रिय बनाउने निर्णय गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय समिति बैठकले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षालाई ध्यानमा राख्दै स्पेशल टास्क फोर्स (एसटिएफ) क्याम्पिङ सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकले अन्तरपार्टी युवा, विद्यार्थी र जेनेरेसन–जेड समूहबीच समन्वय बढाउन विशेष संयन्त्र निर्माण गर्ने निर्णय समेत गरेको छ। साथै, सबै प्रदेशमा कमाण्ड सेन्टर स्थापना गरी चुनावी गतिविधिको व्यवस्थापन गर्ने योजना अघि सारिएको छ।

वाईसीएलले प्रत्येक मतदान केन्द्रमा युवाको सक्रिय उपस्थिति सुनिश्चित गर्न ‘एक बुथ, सय यूथ’ अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

बैठकलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले निर्वाचनलाई मर्यादित र सफल बनाउन युवाले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया