८ फागुन,काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको भैरहवामा फागुन ९ गतेका लागि तय गरेको चुनावी शक्ति प्रदर्शन अन्तिम समयमा आएर स्थगित गरेको छ। तयारी तीव्र गतिमा भइरहेका बेला केन्द्रबाट आएको आकस्मिक निर्देशनपछि कार्यक्रम रोकिएको हो।
रास्वपा रुपन्देही–३ का चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीका अनुसार पार्टी केन्द्रीय कार्यालयले “संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन” का कारण देखाउँदै सभा तत्कालका लागि स्थगित गर्न प्रदेश समितिलाई पत्राचार गरेको छ। प्रदेशस्तरीय सभाका लागि पत्रकार सम्मेलनदेखि प्रचारप्रसार र मञ्च निर्माणसम्मका काम अन्तिम चरणमा पुगेका थिए।
तर राजनीतिक वृत्तमा भने यो निर्णयको पृष्ठभूमिमा दाङमा गएको राति भएको विवादास्पद घटना जोडेर हेरिएको छ। रास्वपा समर्थकहरूले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को झण्डा जलाएको तथा अध्यक्ष केपी शर्मा ओली विरुद्ध आपत्तिजनक नाराबाजी गरेको घटनापछि अवस्था तनावग्रस्त बनेको थियो। त्यस घटनाले दुई दलबीचको टकरावलाई थप चर्काएको छ।
एमाले पक्षले आफ्नो पार्टीको झण्डा जलाइएको र नेतृत्वविरुद्ध अशोभनीय अभिव्यक्ति दिइएको भन्दै कडा आपत्ति जनाएको छ। स्थानीय तहमा संभावित झडप र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सभा रोकिएको हुनसक्ने आकलनसमेत भइरहेको छ, यद्यपि रास्वपाले औपचारिक रूपमा उक्त घटनालाई कारणका रूपमा स्वीकार गरेको छैन।
चुनावी सरगर्मी चर्किँदै जाँदा देखिएको यो पछिल्लो घटनाक्रमले रुपन्देहीसहित आसपासका जिल्लामा राजनीतिक तापक्रम थप बढाएको छ।