३ फागुन,काठमाडौं - निर्वाचन आयोगले आसन्न निर्वाचनका तयारीका क्रममा कर्णाली प्रदेशका १० जिल्लामा मतपत्र ढुवानी सुरु गरेको छ। आयोगका अनुसार छपाइ कार्य पूरा भएका १२ निर्वाचन क्षेत्रका मतपत्र अहिले सम्बन्धित जिल्लामा पठाइँदै छन्।
सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिए अनुसार मतपत्र पठाउने जिल्लामा सल्यान, रुकुम (पश्चिम), डोल्पा, मुगु, हुम्ला, कालिकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत समावेश छन्।
देशभरका हाल ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाइ कार्य सम्पन्न भइसकेको छ। यस क्रममा कुल १ करोड ५७ लाख ७८ हजार मतपत्र छापिएको आयोगले जनाएको छ।
डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेतसहित सुदूरपश्चिम र कोशी प्रदेशका विभिन्न जिल्लाको मतपत्र छपाइ पूरा भइसकेको छ।
यसैबीच १४ हजार ३४१ बाकस मतपत्र प्याकिङ गरिएको छ। दैनिक करिब एक हजार बाकस प्याकिङ र १३–१५ लाख मतपत्र छपाइ भइरहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा भइरहेको छ। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर सम्बन्धित जिल्लामा पठाइसकिएको छ।
समानुपातिकतर्फ माघ १३ गतेसम्म २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ र प्याकिङ सम्पन्न भई ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य रहेको छ, जसको छपाइ माघ १६ गतेदेखि सुरु भएको छ।
निर्वाचन नजिकिँदै जाँदा आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानी प्रक्रियामा थप तीव्रता दिएको छ।