वाम आन्दोलन पुनर्गठन गर्न झापाली नेताहरूको आह्वान

साझा लाल्टिन संवाददाता

काठमाडौँ - हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापाका वामपन्थी दलहरूले व्यहोरेको हारपछि त्यहाँका नेताहरूले वाम आन्दोलन पुनर्गठनको आवश्यकता औँल्याएका छन्।

विभिन्न दलसँग आवद्ध नेताहरूले संयुक्त अपिल जारी गर्दै चुनावी नतिजाले कम्युनिस्ट आन्दोलनलाई ‘इतिहासकै गम्भीर मोड’ मा पुर्‍याएको उल्लेख गरेका छन्। उनीहरूले तत्काल आत्मसमीक्षा, संरचनागत सुधार र नयाँ ढङ्गले पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्।

अपिलमा २०२८ सालको झापा आन्दोलनका अगुवा नरेश खरेल, एमालेका पूर्व केन्द्रीय सदस्य रविन कोइराला र गणेश पोखरेलसहित अन्य वामपन्थी नेताहरूको सहभागिता रहेको छ। साथै, नेकपा, नेकपा (संयुक्त), नेकपा (माओवादी) र प्रगतिशील लोकतान्त्रिक पार्टीसँग आवद्ध नेताहरूले पनि अपिलमा हस्ताक्षर गरेका छन्।

नेताहरूले निर्वाचनमा भएको पराजयलाई सामान्य राजनीतिक उतारचढाव नभई गम्भीर सङ्कटको सङ्केतका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार वाम धार कमजोर बन्दै जानु, जनविश्वास घट्नु र समाजवादप्रति आशंका बढ्नु चिन्ताजनक अवस्था हो।

अपिलमा पराजयको मुख्य कारण बाह्य शक्तिको प्रभाव मात्र नभई आन्तरिक कमजोरी भएको औँल्याइएको छ। ‘विदेशी चलखेललाई बहाना बनाएर नेतृत्वले आफ्ना कमजोरी लुकाउन खोज्नु स्वीकार्य हुँदैन,’ अपिलमा भनिएको छ।

त्यस्तै, लामो समयदेखि पार्टीभित्र बढ्दो गुटबन्दी, विधान उल्लङ्घन, सत्ताकेन्द्रित राजनीति र जनतासँगको दूरीले वाम आन्दोलन कमजोर भएको निष्कर्ष निकालिएको छ। नेताहरूले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अब गम्भीर सुधारको आवश्यकता रहेको बताएका छन्।



प्रतिक्रिया