निर्वाचनमा सिट गुमेपछि राउतले लिए संसदीय राजनीतिबाट सन्यास

साझा लाल्टिन संवाददाता

०२ चैत,काठमाडौं -जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले भने संसदीय पदको राजनीतिबाट टाढा रहे पनि आफ्नो राजनीतिक सक्रियता र संघर्ष जारी रहने बताएका छन्।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै राउतले लेखेका छन्, “संसदीय राजनीतिबाट सन्यास लिन्छु, तर संघर्षको राजनीति भने जारी रहनेछ। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढ्नेछु।”

उनले सार्वजनिक रूपमा स्पष्ट पार्न चाहेको भन्दै थपेका छन्, “म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको अर्थ राजनीतिबाट हराउनु होइन।”

राउतका अनुसार आफू सक्रिय राजनीतिमै रहेर आफ्नो सिद्धान्त र एजेण्डालाई अगाडि बढाउँदै जनताको पक्षमा संघर्ष जारी राख्नेछन्।

२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि उदाएको जनमत पार्टी त्यतिबेला राष्ट्रिय दलको हैसियतमा पुगेको थियो। सो निर्वाचनमा राउत स्वयं प्रत्यक्षतर्फ विजयी भएका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटेपछि पार्टीले थप पाँच सांसद सिट पाएको थियो।

तर २०८२ फागुन २१ मा भएको निर्वाचनमा भने जनमत पार्टीले कुनै पनि सिट जित्न सकेन। सप्तरी–२ बाट चुनाव लडेका राउत राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवसँग पराजित भएका थिए। प्रत्यक्षतर्फ अन्य उम्मेदवार पनि विजयी हुन सकेनन् भने समानुपातिकतर्फ पार्टीले थ्रेसहोल्ड समेत पार गर्न सकेन।

राउतले अब आफू संसदीय राजनीतिबाट टाढा रहेर पार्टीलाई आगामी स्थानीय तथा प्रदेश निर्वाचनका लागि तयार पार्ने काममा केन्द्रित हुने बताएका छन्।

उनले आफू सधैं जनताको बीचमै रहने र अधिकार तथा पहिचानको आन्दोलनमा निरन्तर सक्रिय रहने पनि बताएका छन्।

यसैबीच राउतले जनमत पार्टीको अध्यक्ष बन्नु पनि आफ्नो व्यक्तिगत चाहना नभएको बताएका छन्। उनका अनुसार अन्य नेताहरूले जिम्मेवारी लिन नमानेपछि बाध्य भएर आफूले नेतृत्व सम्हाल्नुपरेको थियो।

उनले लेखेका छन्, “नरेन्द्रप्रसाद चौधरीज्यू लगायतका साथीहरूलाई जनकपुरमा बोलाएर अध्यक्ष बन्नका लागि पटक–पटक आग्रह गरेँ। उहाँहरूले नमानेपछि म आफैं अध्यक्ष बन्नु परेको थियो।”

राउतले आफ्नो व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको दाबी समेत गरेका छन्। २०७९ को चुनावमा विजयी भएका उनी यसपटक भने पराजित भएका हुन्।

प्रतिक्रिया