०८ चैत,काठमाडौं - आइतबार बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
पर्खाल भत्किँदा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्का गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल ठैबस्थित मेडिसिटी अस्पताल लगिएको भए पनि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
उक्त घटनामा अन्य चार मजदुर घाइते भएका छन्। घाइते हुनेहरूमा जानकी चन्द, शान्ति कुँवर, नन्दकुमारी मगर र सुमा कुमाल रहेका छन्। ती सबै सोही इँट्टाभट्टामा कार्यरत मजदुर हुन्।
गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल रिफर गरिएको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
घटनापछि प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उद्धार तथा थप अनुसन्धानको काम अघि बढाएको जनाएको छ।
22 March 2026