माइकिङ गरेको १८ घण्टामै बस्ती हटाइयो, बुटवलका सुकुमबासी अलमलमा

साझा लाल्टिन संवाददाता

१३ वैशाख, काठमाडौं,

बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने क्रममा उपमहानगरपालिकाले डोजर चलाएको छ। शनिबार साँझ मात्र माइकिङमार्फत खाली गर्न सूचना दिइएपछि स्थानीयले हतारहतार सामान सार्न थालेका थिए, तर तयारी पूरा नहुँदै आइतबार बिहानै डोजर प्रयोग गरिएको हो।

नगर प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा सञ्चालन गरिएको अभियान अन्तर्गत बुटवल उपमहानगरपालिका–४ मा पर्ने उच्च अदालत तुलसीपुर इजलास अगाडि रहेको बस्ती हटाउन थालिएको हो। उक्त क्षेत्रमा करिब दुई दर्जन घर–टहरा रहेको र केहीले बिहानैदेखि सामान सार्न सुरु गरिसकेका थिए।

उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै साविक कित्ता नम्बर ३९६ मा पर्ने करिब २ बिघा ५ कठ्ठा १४ धुर क्षेत्रफलको सरकारी जग्गा खाली गराउन निर्देशन दिएको थियो। सो जग्गा पहिले लुम्बिनी अञ्चलाधीश कार्यालयको नाममा रहेकामा पछि उच्च अदालतको भोगाधिकारमा दिइएको बताइएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य कानुनी प्रक्रिया अनुसार अघि बढाइएको हो।

तर स्थानीय भने न्यून समयमै सूचना दिई जबर्जस्ती हटाइएको भन्दै असन्तुष्ट छन्। केहीले रातारात सामान सारिसके पनि धेरैले पूर्ण रूपमा व्यवस्थापन गर्न नपाउँदै डोजर चलाइएको गुनासो गरेका छन्।

स्थानीय बासिन्दा भक्त बस्नेतले आफूहरूलाई सरकारले नै बसोबासका लागि दिएको जग्गामा तीन दशकदेखि बस्दै आएको दाबी गर्दै एकाएक हटाउने शैलीप्रति आपत्ति जनाए। “हामीले आफैँ हटाउन सुरु गरेका थियौं, तर समय नदिई डोजर चलाइयो,” उनले भने, “हामीलाई अपराधीजस्तै व्यवहार गरिएको महसुस भयो।”

प्रतिक्रिया