काठमाडौँ १६ साउन - पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रुसी कम्युनिस्ट नेता स्टालिनकै शैलीमा नेपालका कम्युनिस्ट माठाधीशहरूले आफ्ना आलोचक र विरोधी नेताहरूलाई राजनीतिक र साङ्गठनिक सफायाको बाटो समाउनु विडम्बना भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटोसहित स्टाटस् लेख्दै भट्टराईले उक्त आरोप लगाएका हुन् । १० वर्षे माओवादी जनयुद्धका मुख्य नेता समेत रहेका उनले पुरानै एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका नेताहरूलाई समाजवाद निर्माण र मानव जातिको समग्र उन्न्ययनको नयाँ वैकल्पिक बाटोको खोजीका लागि साहस गर्न उत्प्रेरित गरेका छन् ।
‘अहिले नेपालका ‘कम्युनिस्ट’ मठाधीशहरूले पनि आफ्ना आलोचक र विरोधी नेताहरूलाई पालैपालो स्टालिनकै शैलीमा भौतिक सफाया नगरे पनि राजनीतिक र साङ्गठनिक सफाया गर्ने बाटो समाउनु इतिहासको ठुलो विडम्बना नभए के होला त ?’, उनले प्रश्न उठाएका छन्,
एकमनावादी, नोकरशाही केन्द्रीयतावादी कम्युनिस्ट पार्टीमा भावनात्मक ढंगले टाँसिएर बसिरहेका र पार्टी सुप्रिमोले पहिले एउटा कमरेडलाई ठोक्दा ताली पिट्ने अनि पछि आफ्नै पालो आउँदा एक्लै आँसु झार्ने साथीहरूले इतिहासबाट पाठ सिकेर समाजवाद निर्माण र मानव जातिको समग्र उन्नयनको नयाँ वैकल्पिक बाटो खोजी र निर्माण गर्ने साहस गर्ने कि ?’