नेकपा चुनावी हारको समीक्षा गर्दै रणनीति तयमा जुट्यो

साझा लाल्टिन संवाददाता

 २१ चैत,काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हालै सम्पन्न चुनावमा अपेक्षा भन्दा कम मत पाएपछि आफ्नो रणनीति र चुनावी कमजोरीको समीक्षा सुरु गरेको छ। २२ घटक मिलेर बनेको नेकपा १७ सिटमा सिमित भएपछि पार्टीले आगामी कदमको तयारी थालेको हो।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारदेखि संयोजन समितिको बैठकमार्फत औपचारिक छलफल सुरु गरेका छन्। अर्को बैठक सोमबार बस्नेछ।

बैठकमा प्रचण्डले चुनावी हारको कारण समेटिएको प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदनमा उल्लेख छ कि चुनावअघि चार प्रमुख दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो, तर वास्तविक परिणाम अपेक्षाभन्दा फरक आयो।

प्रतिवेदनमा भनिएको छ, “निर्वाचनमा हामीले कम्तीमा प्रत्यक्षमा तीनभन्दा बढी सिट र समानुपातिकतर्फ १७–१८ लाख मत प्राप्त गर्ने अपेक्षा गरेका थियौँ। कांग्रेस, एमाले र रास्वपाले प्रत्येक ४०–५० सिट ल्याउने आकलन थियो। हाम्रो आकलन कुनै तथ्यगत रिपोर्ट वा सर्वेक्षणमा आधारित थिएन।”

निर्वाचन अभियानको क्रममा विभिन्न क्षेत्रबाट आएका रिपोर्टले ६० सिटसम्म जित्ने सम्भावना देखाएको भए पनि वास्तविक परिणाम त्यसअनुरूप आएन। केही क्षेत्रहरूमा दोस्रो स्थान पनि हात परेन।

प्रतिवेदन अनुसार हारको मुख्य कारण चुनावी एजेन्डा र नेतृत्त्वको छनोटमा मतदातासँग मेल नखाउनु हो। नेकपाले सुशासन, रोजगारी, समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी र असमानता अन्त्यजस्ता मूल नारासहित चुनाव लडे पनि मतदाताले यी विषयमा ध्यान दिएनन्।

पार्टीको निष्कर्ष अनुसार मतदाताहरू डिजिटल माध्यम र अल्गोरिदमिक सन्देशमार्फत आउने सामग्रीमा बढी प्रभावित भएर मतदान गरेका छन्।

प्रतिक्रिया