जेन–जी अगुवा रक्षा बमले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका लागि सरकारमाथि दबाब बढाएकी छन् ।
सडकमा आफैँ प्रश्नहरूबाट घेरिन थालेपछि रक्षाले सामाजिक सञ्जालमा आक्रमक रूपमा प्रस्तुत हुँदै प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन सार्वजनिक गरेर वास्तविकता बाहिर ल्याउन आग्रह गरेकी छन् ।
‘आज हामीले दुर्व्यवहार भोग्नुपरेको छ । जीवनभरि गलत आरोपहरूको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदै छ । किनकि, पीडितहरूको आवाज चर्को हुन्छ, प्रधानमन्त्रीज्यू । त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ’, रक्षाले लेखेकी छन्, ‘यी प्रश्नहरू र यस्तो व्यवहार आज सडकमा प्रत्यक्ष रूपमा देखिएको पहिलो दिन हुन सक्छ, तर सामाजिक सञ्जालमा, विशेषतः फेसबुकका इनबक्स र कमेन्टहरूमा, म यसलाई सुरुदेखि नै भोग्दै आइरहेकी छु । यो त मेरो दैनिकीजस्तै भइसकेको छ । ममाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ मैले बारम्बार दिइसकेकी छु, तर अब त्यतिले मात्रै पुगेन, प्रधानमन्त्रीज्यू । अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ ।’
उनले अगाडि लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु । म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु । र, म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ? गोली चलाउने आदेश कसले दियो ? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् । त्यो तपाईको जिम्मेवारी हो ।
न्याय पर्खिरहेका आँखाहरू प्रधानमन्त्री कार्कीतिरै फर्किएको उनको भनाइ छ ।