घुसकाण्डमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा

साझा लाल्टिन संवाददाता

 १६ पुस, काठमाडौं - विशेष अदालतले घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ । गुप्ता पोखराको बाटुलेचौर जग्गा प्रकरणमा मुछिएका थिए ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनुपर्ने आदेश गरेको हो । बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले उनलाई थुनामै राखी मुद्दा अघि बढाउन आदेश दिएको छ ।

असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियो त्यतिबेला सार्वजनिक भएको थियो ।

        


प्रतिक्रिया