१३ फागुन,काठमाडौं - अछाम–१ मा चुनावी माहोल तातेका बेला नेकपा (एमाले) का उम्मेदवार दिपक साउद गम्भीर नैतिक विवादमा तानिएका छन्। उनीमाथि पत्रकार मेनुका ढुंगानाले यौन दुर्व्यवहारको आरोप सार्वजनिक गरेपछि स्थानीय राजनीति तरंगित बनेको हो।
ढुंगानाका अनुसार साउदले ७/८ वर्ष अघि आफूलाई ‘बहिनी’ भन्दै नजिकिएर अनैतिक प्रस्ताव राखेका थिए। अछामको चौखुट्टेमा राजनीति गर्न खोजे “मुखुण्डो उतारिदिने” चेतावनी दिएको दाबीसमेत उनले गरेकी छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले “केटी मान्छेलाई प्रयोगको वस्तु ठान्ने कथित नेता चुनाव लड्दैछ” भन्दै तीखा शब्द प्रयोग गरेकी छन्।
यसैबीच, सुदूरपश्चिम प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री झपट बोहराले विगतमा रोष्ट्रमबाटै साउदलाई ‘सतार राँगो’ भनेको प्रसंग पनि पुनः चर्चामा आएको छ। ढुंगानाले उक्त टिप्पणी स्मरण गर्दै साउदको चरित्रमाथि प्रश्न उठाएकी छन्।
विगतमा नयाँ बानेश्वर क्षेत्रमा साउदमाथि चप्पल प्रहार भएको चर्चा चलेको भए पनि त्यसबारे ढुंगानाले प्रत्यक्ष पुष्टि गरेकी छैनन्। उनले भने नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मदन भुललाई साक्षीका रूपमा संकेत गर्दै पुरानो घटनाको स्मरण गराएकी छन्।
राजनीतिक रूपमा साउदको पृष्ठभूमि पनि उतारचढावपूर्ण देखिन्छ। माओवादी धारबाट अघि बढेका उनी पछि प्रगतिशील लोकतान्त्रिक पार्टीमा पुगेका थिए। प्रतिनिधिसभा निर्वाचन अघि भने उनी एमालेमा प्रवेश गरी टिकट पाए। जबकि सो क्षेत्रमा यसअघि नै बोहरालाई उम्मेदवार बनाउने निर्णय भइसकेको थियो।
अछाम–१ मा मुख्य प्रतिस्पर्धीका रूपमा भीम रावल र भरतकुमार स्वार लाई हेरिएको छ। यौन दुर्व्यवहारको आरोप, पार्टीभित्रको असन्तुलन र उम्मेदवार परिवर्तनको प्रसंगले स्थानीय मतदातामा साउदप्रति मिश्रित प्रतिक्रिया देखिएको बताइन्छ।
निर्वाचनको संघारमा उठेको यो विवादले अछाम–१ को चुनावी समीकरणलाई कता मोड्ने हो, त्यसतर्फ सबैको चासो केन्द्रित भएको छ।