२ वैशाख, काठमाडौं,
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले आज शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्री पोखरेलको कार्यकक्षमा भएको भेटमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्य तथा आपसी सहयोग विस्तारका विषयमा विस्तृत छलफल भएको थियो।
भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिमा बेलायत सरकारले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। साथै, सातै प्रदेशमा सञ्चालनको तयारीमा रहेका ‘अटिजम स्कुल’ कार्यक्रमलाई विशेष सहयोग गर्न बेलायत पक्षसँग आग्रह गरेका छन्।
उनले विद्यालयका लागि आवश्यक स्रोतसाधन व्यवस्थापन, दक्ष जनशक्ति विकास र प्राविधिक सहयोगमा बेलायतको साथ आवश्यक रहेको उल्लेख गर्दै यस क्षेत्रमा सहकार्य बढाउन राजदूत फेनसमक्ष अनुरोध गरेका थिए।
मन्त्रीको निजी सचिवालयका अनुसार भेटवार्तामा समावेशी शिक्षा, विशेष आवश्यकता भएका बालबालिकाको सिकाइ अवसर विस्तार तथा दीर्घकालीन साझेदारीका विषयमा समेत सकारात्मक छलफल भएको थियो।