रास्वपाको बैठकले आज समानुपातिक सूची टुंग्याउने, सरकार बन्न कति दिन लाग्छ त ?

साझा लाल्टिन संवाददाता

१ चैत,काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली आज निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ। पार्टीले भने नयाँ सरकार गठन हुन भने अझै करिब १० दिन लाग्न सक्ने आकलन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै रास्वपा प्रवक्ता मनिष झाले समानुपातिक सूची टुंग्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले आज बस्ने पार्टी बैठकले उम्मेदवारहरूको नामावली टुंगो लगाएर आयोगमा बुझाउने बताए।

“हाम्रो तत्काल प्राथमिकता समानुपातिक उम्मेदवारहरूको सूची बुझाउने हो, त्यसैले आजको बैठकले त्यसलाई अन्तिम रूप दिन्छ,” झाले भने।

सरकार गठनको समयबारे उनले केही संवैधानिक र प्रशासनिक प्रक्रिया बाँकी रहेकाले नयाँ सरकार बन्न अझै केही समय लाग्ने बताए। संसद सचिवालयको तयारी, निर्वाचन आयोगबाट अन्तिम विवरण पठाउने प्रक्रिया र समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरणजस्ता चरण पूरा हुन बाँकी भएकाले तत्काल सरकार गठन सम्भव नहुने उनको भनाइ थियो।

“यी प्रक्रियाहरू फरक–फरक निकायको जिम्मेवारीमा पर्ने भएकाले ठ्याक्कै समय भन्न कठिन छ,” उनले भने, “तर हाम्रो अनुमानमा नयाँ सरकार बन्न करिब १० दिन जति लाग्न सक्छ।”

रास्वपाको बैठकले समानुपातिक सूचीसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्ने जनाइएको छ।

प्रतिक्रिया